कुनै पनि नेता यी तिन कुरामा विवादमा नआउन्जेल कुनै फरक पर्ने वाला छैन-
१। नैतिकता/ आचरण सम्बन्धि प्रश्न
२। भ्रष्टाचार मुद्दा
३। परिवारवाद या नातावाद/कृपावाद
जहाँसम्म लाग्छ हर्क र बालेन यी तिन कुरामा हालसम्म सफा छन्। नैतिक रुपमा हालसम्म सफा छन्। भ्रष्टाचार देखिएको छैन। र सारा विरोधी हात धोएर पछि लाग्दा समेत स्वार्थ प्रेरित/ परिवार प्रेरित या आफू अनुकुल मात्रै काम या निर्णय गरेको भेउ भेट्टाउन सकेको छैन। जे गर्दैछन्, समाजकै लागि गर्दैछन्। त्यही कुरामा गाली खाइरहेछन्। र कामकै लागि गाली खाइरहेछन्।
बाँकी कुरा भनेको, एउटा व्यक्ति हजार गुण जोडिएर र गाँसिएर बनेका हुन्छन्। जस्तो व्यक्तित्व फरक हुन सक्छ। स्वभाव फरक हुन सक्छ। काम गर्ने शैली, बोली, व्यवहार, मिजास फरक हुन सक्छ। हरेक व्यक्तिमा पृथक पृथक गुण हुन्छ। त्यसैलाई हेरेर यस्तो हो भनेर मुल्याङ्कन गर्नु सही हुँदैन।
हर्क/ बालेन दलिय तन्त्रका विकल्प हैनन्। न बहुदलिय राजनीतिका विरोधी नै हुन्। उनीहरुको व्यक्तिगत धारणा चाहे जे होस्, तर नेपालको जुन प्रणाली छ, त्यसमा कसैले स्वतन्त्र उठेर या दलबिहिन राजनीति गरेर केही सुधार्छु भन्नु संभव कुरा पनि हैन। अझ संसदिय व्यवस्थामा झनै असंभव कुरा हो। जहाँ दल मिलेर सरकार बनाउने स्पष्ट परिकल्पना संविधानले नै गरिसकेको छ।
तर स्थानिय तहका लागि भने यी गतिलो उदाहरण बन्न सक्छन्। त्यहाँ सम्भव पनि छ। एक्लै उठेर, तल्लो तह र तप्कामा दलिय भागबन्डाको जुन फोहोरी खेल छ। त्यो किचलो हटाउँछु र विशुद्ध जनताको लागि काम गर्छु भन्नु गलत हो र? टोल टोलमा जसरी राजनीतिको पसल खुलेको छ त्यसलाई सुधार्छु भन्नु गलत कुरा हो र?
हो आलोचना सहने कुरामा दुबै असहिष्णु नै छन्। अझ हर्क त चार कोष टाढै बस्न रुचाउँछन्, आलोचकहरुबाट। गाली गर्छन्। फेसबुकमा स्टेटस माथि स्टेटस बर्साउँछन्। यता बालेन त्यस्तै छन्।
तर यसको बिउ कसले रोप्यो? हिँजो निन्दा बिनाको राजनीति हुँदैन भनेर सिकाउने गुरु को थियो? हिँडेको, खाएको, रमाइलो गरेकै कुराहरुमा पनि निन्दाको अखण्ड प्रहार बर्साउने र मिडियाबाजी गर्ने को हो?
सुरुवात त पार्टी र ति सम्बद्ध कार्यकर्ता अनि वौद्धिकहरुबाटै पनि भएको हैन र?
ति हर्कको पाइपको पछि लाग्या छन्। बालेनको पार्किङ्ग व्यवस्थापनको पछि लाग्या छन्। शहरलाई पानी खुवाउँछु भन्नु या अनधिकृत पार्किङ् हटाउँछु भन्नु या शहर सफा राख्छु भन्नु गलत काम हो र? तरिका र शैलीमा प्रश्न उठाउन पाइन्छ, तर त्यही कामका लागी जसरी आँशुको व्यापार र नैतिकताको प्रश्न उठाइन्छ र बारम्बार चारैतिरबाट प्रहार गरिन्छ त्यो अति नै घटिया राजैतिक संस्कारको नमूना लाग्छ। त्यसमा सञ्जालको योगदान पनि उत्तिकै छ। जनता माझबाट उठेर आएका प्रतनिधि हुन् ति। कुनै दलको ट्याग बोकेर भोट बटुलेका 'नेता' हैनन्। गलत ठाउँमा कठालो पक्रिने जनता त त्यहीँ छन् नि! साथमै छन् नि! कमसेकम उनीहरुमा जवाफदेहीता त छ। अनि मन्त्री/ प्रधानमन्त्रीसँग समेत जवाफदेहीता नमागिने यो मुलुकमा हर्क/ बालेनसँग बारम्बार उही चिजमा प्रहार गरिनु पूर्वाग्रही सोच होइन र?
यो देशमा केही हुँदैन, पार्टीबिना केही हुँदैन, बन्दैन, सकिँदैन भन्ने जुन मान्यता स्थापित गराउन खोजिँदै छ, हर्क/ बालेनको उदय र कामले त्यसलाई थोरै भएनी लोप्पा खुवाइदिएको छ। राजनीतिलाई केही थान एलिट र पहुँचवालाहरुको पेशा मात्रै हो ठान्ने स्थापित मान्यतालाई केही भए नि धक्का दिएको छ।
स्टन्टको नाम नै सही। धेरै कामलाई ठिक भन्नै पर्छ। समर्थन योग्य काम छ हर्क/ बालेनहरुको। राजनीतिप्रति उदासिन हुँदै गएको पछिल्लो पुस्तामा उर्जा र उत्साह जगाउने कुरामै सही। त्यो योगदानलाई कम आँक्न मिल्दैन। काम गर्ने प्रतिनिधी पनि हुँदा रहेछन् भनेर कामै गरेर देखाउने क्षमता यी दुईमा छ। काम गर्न दिउँ। सके समर्थन गरौँ। नसके सभ्य आलोचना गरौँ। केही गलत भए औँल्याउँ। सुधार्न दिउँ। सुध्रिन दिउँ। आलोचनाको घेराबाहिर कोही हुनु हुँदैन पनि।
पार्टीबाट जितेका नेताहरुलाई बचाउने पार्टी छ। दल छ। लाउकेहरु छन्। हर्क/ बालेनसँग हालसम्मको शक्ति, बल, तागत भन्नु आफ्नै छबी र काम मात्रै हो। हर बार कामले नै आफूलाई प्रमाणित गर्नुछ। काम देखाउनुछ। काम गर्नुछ। अर्को विकल्प छैन। सही/ गलतको निर्णय आफैँ गर्नुछ। र जहाँसम्म लाग्छ, उनीहरु त्यो भेद राम्ररी जान्छन्। राम्रो गरे देशको भविष्य उनीहरु नै हुन्। र यदी गलत गरे भोलीका दिनमा जनताको आँगन नै अदालत छँदै छ।
त्यही दिनबाट उनीहरु आफैँ 'लपरघन्डुस' भएर जानेछन्।
